काठमाडौं, ४ साउन — लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीको जोखिम बढ्दा नौ प्रमुख राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
कोशी प्रदेशमा इलाम, पाँचथर र खोटाङका विभिन्न सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छन् भने भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्ग तथा काठमाडौं–हेटौँडा कान्ति लोकपथमा अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोकिएको छ। साथै, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र चितवनको फिस्लिङ क्षेत्रमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ।
धादिङको तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालनमा आए पनि जवाङखोला क्षेत्रमा सडक अझै बन्द छ। रसुवाको पासाङल्हामु सडकखण्डमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षा अझै जारी रहेकाले पहिरो र बाढीको जोखिम कायम रहेको भन्दै यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।