कचनापुर, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय मदुईले बुधबार आफ्नो ६५ औं वार्षिक उत्सव तथा अभिभावक भेला उत्सवको रुपमा मनाएको छ ।
विद्यालय प्रागणमा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ६५ औं वार्षिक उत्सव तथा अभिभावक भेला धुमधामका साथ मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकाको शैक्षिक विकासलाई प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले पालिकाको शैक्षिकस्तर सुधार गर्न सकिने हो भने यहाँको हरेक कुराको विकास तीब्र बनाउन सकिने बताउनुभयो । आफुले शिक्षाको गुणस्तरीयतालाई ध्यान दिँदै वार्षिक कार्यक्रमहरु तयार गरेर संचालन गरिएको बताउँदै अध्यक्ष पौडेलले आफुले पढेको विद्यालयमा हरेकको कुराको व्यवस्थापन र शैक्षिक गुणस्तर बृद्धि भएको जोकोही देख्न चाहने गरेको बताउनुभयो ।
शैक्षिक सुधारका लागि विद्यालयका हरेक पक्षसँगै अभिभावकको चासो, सक्रियता जरुरी रहेको धारणा राख्नुभएको थियो । यस्तै कार्यक्रमका बिशेष अतिथि विद्यालयका सल्लाहकार एवं पूर्व मन्त्री प्रेम बहादुर भण्डारीले शिक्षाको ज्योति जति सजिलो र सहजरुपमा दिगो बनाउने सकिन्छ त्यति नै समाजमा शिक्षित व्यक्ति तयार गर्न सकिने बताउनुभयो ।
उहाँले विद्यालय नै बालबालिकाका लागि सर्वाङ्गिण विकास हुने अवसर पाउने ठाउँ हुने भएकाले यस क्षेत्रमा राजनीति नभएर समाजसेवाको भावना हरेक व्यक्तिमा हुनुपर्ने बताउनुभयो । हामीलाई सकारात्मक सोंचसहितको समाज चाहिने हो भने विद्यालयबाट नै यसको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का वडाअध्यक्ष सालिक राम डाँगी, २ नम्बरका कार्यबाहक वडाअध्यक्ष दिर्घ बहादुर बुढाथोकी, वडासदस्य, राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय बाँकेका प्रमुख लक्ष्मी प्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत निर्माण भएको २ तले १२ कोठे भवनको उद्घाटनसमेत गरिएको थियो । कचनापुरमा नवनिर्मित छात्रावास भवनको गाउँपालिका अध्यक्ष पौडेलले उद्घाटन गर्नुभएको थियो ।
यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे दोस्रो तलाको भवन निर्माणको सिलन्यास पनि गरिएको छ । कार्यक्रममा प्रधानाध्यापक लक्ष्मण प्रसाद आचार्यले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रम तथा भेलाकै अवसरमा विद्यालयमा उत्कृष्ट विद्यार्थीका रुपमा बिराज बिष्ट, शिक्षकका रुपमा रुद्र बहादुर केसी, अभिभावकका रुपमा राजकुमार सार्कीलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मानित गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमहरु नृत्य तथा खेल अन्तर्गत कराते, तेक्वान्दो, सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए । यस्तै विद्यालयको विभिन्न तहमा उत्कृष्ट नतिजा ल्याउने तथा खेलकुद कार्यक्रमहरुमा समेत उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।