२०८२ फाल्गुन ३० शनिबार

एनपीएल सिजन २ फ्लडलाइटको उज्यालोमा खेलाइने

काठमाडौँ । नेपालमा पहिलो पटक दर्शकहरूले फ्लडलाइटको उज्यालोमा क्रिकेट हेर्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण फ्लडलाइटमुनि हुने तय भएको हो ।

एनपीएल २ एक सातापछि सुरु हुँदैछ । आज क्यानले एनपीएलको खेल तालीका सार्वजनिक गर्‍यो । तालिका अनुसार हरेक दिन दुई खेल हुनेछन्, जसमा एउटा खेल बेलुकीलाई राखिएको छ । पहिलो खेल ११:४५ मा र दोस्रो ४ बजे सुरु हुने तालीका छ ।

हिजो साढे ५ बजेदेखि नै अँध्यारो हुने भएकाले दोस्रो म्याचका लागि फ्लडलाइट आवश्यक परेको थियो । यस्तै, प्रतियोगिताका दुई क्वालिफायर, इलिमिनेटर र ग्रान्ड फाइनल पनि ४ बजे नै राखिएको थियो ।

नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा हुनेछन् ।

९ खेल मात्रै फ्लड लाइटबिना हुनेछ । फ्लड लाइटमा हुने खेल दिउँसो साढे ३ र ४ बजेबाट सुरु हुने तालिका छ । फ्लड लाइटबिनाको खेल बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।

त्रिवि मैदानमा फ्लडलाइट राख्ने काम सकिएको छैन । अहिलेसम्म ४ वटा फ्लडलाइट जडान भइसकेको र बाँकी पनि ४-५ दिनभित्र जडान भइसक्ने प्रतिबद्धता प्राप्त भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर