काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरी आमा–छोराको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले हात्तीको गतिविधिमाथि २४सै घण्टा निगरानी भइरहेको र नियन्त्रणका लागि आवश्यक सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएकी छन्।
गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका–१ घर भई हाल बेलहट्टामा बसोबास गर्दै आएका २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको दुःखद निधन भएको थियो।
मन्त्री चौधरीका अनुसार निकुञ्ज, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले हात्तीको निरन्तर अनुगमन गरिरहेको छ। हात्ती निकुञ्जभित्र उपयुक्त स्थानमा भेटिएमा डार्ट प्रयोग गरी नियन्त्रणमा लिएर रेडियो कलर जडान गरिनेछ, जसबाट यसको गतिविधि निरन्तर निगरानी गर्न सहज हुनेछ।
मन्त्रालयले मध्यवर्ती क्षेत्रका स्थानीयवासीलाई हात्ती बस्तीतर्फ आउन लागेको सूचना समयमै उपलब्ध गराइने व्यवस्था मिलाइएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
घटनामा ज्यान गुमाएकाका परिवारलाई सरकारको तर्फबाट प्रतिमृतक १० लाख रुपैयाँका दरले कुल २० लाख रुपैयाँ राहत उपलब्ध गराइएको छ। साथै, राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट प्रतिमृतक ५० हजार रुपैयाँका दरले थप १ लाख रुपैयाँ समेत पीडित परिवारलाई प्रदान गरिएको मन्त्रालयले जनाएको छ।









