काठमाडौं । चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले नागार्जुनस्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाइएको कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारसँग स्पष्टीकरण माग गरेका छन्।
राजेश्वर आचार्य, महेश मास्के, महेन्द्र पाण्डे, लीलामणि पौडेल, टंक कार्की, विष्णु पुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको ‘एक चीन नीति’ प्रति सरकार दृढ रहनुपर्ने बताएका छन्।
उनीहरूले नेपालले सधैँ आफ्नो भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता जनाउँदै आएको स्मरण गराउँदै, हालै परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा पनि यही प्रतिबद्धता दोहोर्याइएको उल्लेख गरेका छन्।
पूर्वराजदूतहरूले यदि उक्त कार्यक्रम सरकारको जानकारी वा सहमतिमा भएको हो भने त्यसले नेपालको एक चीन नीतिप्रति प्रश्न उठाउने र चीनसँग गलत सन्देश जाने बताएका छन्। वक्तव्यमा उनीहरूले प्रश्न गरेका छन्, “के नेपालको एक चीन नीतिमा परिवर्तन आएको हो ? के हामीले छिमेकीसँगको परराष्ट्र नीति बदलेका हौँ ?”
उनीहरूको भनाइमा यस्ता गतिविधिले नेपालले अपनाउँदै आएको भूराजनीतिक सन्तुलनमा असर पार्न सक्ने र त्यसले देशको स्थायित्व, विकास तथा स्वतन्त्रतामाथि नकारात्मक प्रभाव पार्न सक्ने जोखिम रहेको छ।
पूर्वराजदूतहरूले सरकारलाई भविष्यमा यस्ता संवेदनशील विषयमा विशेष सावधानी अपनाउन, एक चीन नीतिप्रतिको प्रतिबद्धतालाई व्यवहारमा पनि दृढतापूर्वक कार्यान्वयन गर्न तथा नेपाल–चीन सम्बन्धमा अनावश्यक विवाद सिर्जना हुन नदिन आवश्यक कदम चाल्न आग्रह गरेका छन्।









