२०८३ बैशाख १९ शनिबार

अपहरण गरेर लिइयो फिरौती, हत्या गरेर फ्याँकियो शव

 
काठमाण्डौ । भक्तपुरबाट एक पुरूषको अपहरण गरी हत्या भएको छ। हत्यापछि पाँचखाल नगरपालिका वडा नम्बर ८ को ४९ किलोमा एक जना पुरूषको शव फेला परेको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार सार्वजनिक गरेको छ।

असोज ६ गते बिहान साढे ८ बजे ४९ किलोमा कीर्तिपुर नगरपालिका वडा नम्बर ५ बस्ने ५० वर्षीय विनोद खड्गीको हत्या गरिएको अवस्थामा शव फेला परेको कार्यालयका डिएसपी मीनबहादुर घलेले जानकारी दिए।

शवको पहिचान सुरूमा नखुलेपनि पछि सामाजिक सञ्जालमा प्रकाशन गरेपछि मृतक विनोद खड्गी भएको खुलेको हो। उनका छोरा विशालले शवको सनाखत गरी कार्यालयमा जाहेरी दिएका थिए।

घटनाको अनुसन्धानपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। उनीहरूले विनोदलाई अपहरण गरी ५ लाख रुपैयाँ फिरौतीसमेत लिएर हत्या गरेको खुलेको हो। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ बस्ने २१ वर्षीया मनिषा महत, शंखरापुर नगरपालिका वडा नम्बर ५ बस्ने २२ वर्षीया सरिन घिमिरे, महोत्तरी घर भई भक्तपुरको कौशलटार बस्ने २० वर्षीय आशिष पासवान, शंखरापुर नगरपालिका ५ बस्ने २१ वर्षीय रिकेश पौडेल र बागलुङ घर भई कोटेश्वर बस्ने १९ वर्षीय प्रतीक गौतम छन्। अन्य व्यक्तिहरू फरार छन्।

उनीहरूमाथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काभ्रेबाट १७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

डिएसपी घलेका अनुसार यस घटनामा मुख्य योजनाकार मनिषा हुन्।

उनी करिब तीन महिना अगाडि भारतमा थिइन्। भारतीय नागरिकहरू अन्सु र शिवम नाम गरेका व्यक्तिहरूसँग मिलेर ग्रेटर नोइडामा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरी साढे एक लाख लिएर मनिसा नेपाल फर्किएको डिएसपी घलेले बताए।

नेपाल फर्किएर पनि त्यसै गरी धनी व्यक्तिलाई निशाना बनाएर यौन कुण्ठामा पारी पैसा लुट्ने मनसाय उनको थियो।

योजना कार्यान्वयन गर्न असोज ४ गते साँझ ५ बजेतिर मनिसाले भक्तपुरको राधेराधेमा रहेको डेरामा अन्सु, शिवम, सरिन र रिकेशलाई योजना सुनाएकी थिइन्। 

त्यसको लागि उनले कसलाई लुट्ने भनेर व्यक्तिसमेत छानिसकेकी थिइन्। मनिषाले समूहमा योजनाबारे सुनाउँदै भनिन्, ‘भोलि एक जना पैसावाला गाडी भएको व्यवसायी आउँछ सुरूमा रक्सी खुवाउने, खाना खाएपछि कुट्ने, हातखुट्टा बाँधेर पैसा असुल्ने।’

यो योजनाबारे काठमाडौंको बानेश्वरमा भेटेर अन्सुले प्रतीकलाई पनि सुनाएका थिए। आशिषलाई पनि अन्सुले योजना सुनाएकी थिइन्।

योजनाअनुसार असोज ५ गते करिब १० बजेतिर मनिसाले विनोदलाई बोलाएका थिए। उनले आफ्नो नागरिकताको प्रतिलिपी बनाउन जानुपर्ने भन्दै सहयोगको माग गरेकी थिइन्। त्यसपछि विनोद साढे ११ बजेतिर आफ्नो गाडी किया सोरेन्टो लिएर मनिसाको कोठामा पुगेका थिए।

त्यहाँ शिवम र मनिसा खाना पकाउँदै थिए। विनोद भने पछि त्यहाँ बसेर अण्डा, रक्सी खाँदै थिए।

शिवम योजनाअनुसार घरबाट निस्केर अन्सुलाई फोन गर्छन्। अन्सुलाई अबको पाँच मिनेट भित्र हिमालय गेटबाट हिँड्नु भनेपछि अन्सु, शिवम, सरिन, रिकेश, प्रतीक र आशिष त्यहाँबाट कोठामा पुगे।

ढोका खोल्नबित्तिकै कुटपिट गर्ने योजना अनुसार उनीहरूले विनोदलाई संवेदनशील अंगमासमेत गरी कुटपिट गरी सक्त घाइते बनाए।

त्यसरी कुटपिट गरेपछि फिरौती माग गर्ने विषयमा उनीहरू अगाडि बढेका थिए। ३० लाख माग्ने कुरा भएपनि मनिसाले धेरै भएको भन्दै १० लाख मात्रै मागौं भनेर सल्लाह गरेका थिए।

विनोदले भने आफूसँग ५ लाख मात्रै भएको बताएका थिए।

‘विनोदले म ५ लाख दिन तयार छु भनेपछि आफ्नै मोबाइलबाट बधशालामा काम गर्ने प्रदीप थापा मगरलाई फोन गर्न खोजेका थिए। तर पछि उनको मोबाइल ह्यांग भएपछि अन्सुको फोनमा विनोदको सिम हालेर फोन गरी तुरून्त ५ लाख रुपैयाँ लिएर राधेराधेको भाटभटेनी अगाडि ल्याउनु  र आर १५ नम्बरको मोटरसाइकलमा आउने व्यक्तिलाई पैसा दिनु भनेका छन्,’ डिएसपी घलेले भने।

आशिष पासवान गएर उक्त रकम पनि लिएर आएका थिए। 

तर पैसा लिएपछि पनि विनोदलाई छाडे भोलिका दिनमा आफूहरूलाई नछाड्ने निष्कर्षमा पुगेका थिए। त्यसपछि उनीहरू विनोदको हत्यासम्म गर्ने योजनामा पुगेको अनुसन्धानमा देखिन्छ।

हत्या गरेर उनको शवलाई फ्याँक्ने योजना उनीहरूको थियो। 

आशिषले गाडी चलाउने, अन्सु र शिवमले गाडीको बिचमा विनोदलाई राख्ने र मनिसाले गेट खोल्ने, गाडीको ढोका खोल्ने घरको वरिपरि रेकी गर्ने,  प्रतीकले गाडीको अगाडि स्कटिङ गर्नेसम्म जिम्मा बाँडफाँट गरेका थिए।

त्यसपछि राति १० बजेतिर उनीहरू भक्तपुरबाट सूर्यविनायक गणेश मन्दिर हुँदै गुण्डुतर्फ जाने बाटोमा पुगेका थिए। त्यहाँ गाडी रोकेर ढुंगाले छातीमा हानेर हत्या गरेको डिएसपी घलेले बताए।

त्यहाँ हत्या गरेपछि साँगाको धुलिखेल हुँदै पाँचखालस्थित ४९ किलोस्थित अरनिको राजमार्गबाट ८ मिटर तल झाडीमा शव फालेको अनुसन्धानबाट खुलेको हो। त्यसपछि उनीहरू सबै जना आ-आफ्नो घरमा गएको देखिन्छ। 

असोज ६ गते उनीहरूले रकम बाँटफाँट गरेका थिए। 

अन्सुले मनिषालाई एक लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार र अन्सुले आफ्नो दिदी रोशनी महतलाई ५० हजार गरी एक लाख ८० हजार दिएको प्रहरीले जनाएको छ।

केही गरी प्रहरीले यसबारे थाहा पाएमा तास खेलेर रकम हारेको र सामान्य विवाद गरेपछि कुटपिट गर्दा उनी घर छाडेर निस्किएको भनेर बताउने भनेर उनीहरूबीच समीक्षा समेत भएको थियो।

यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर