फिक्कल (इलाम)। झापाको भाङबारी स्पोर्टिङ क्लब जिल्लाको माङसेबुङमा जारी ‘१७ औँ संस्करणको आत्मानन्द गोल्डकप’ को सेमिफाइनलमा प्रवेश गरेको छ।
आज माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको खेलमा आयोजक आत्मा–पवित्र खेलकुद समिति विरुद्ध ४–१ गोलको सानदार जित निकाल्दै भाङबारी सेमिफाइनल प्रवेश गरेको हो।
जितका लागि भाङबारीका तर्फबाट पेमा तामाङ, देवेन्द्र तामाङ, रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले गोल गरे। आयोजकका तर्फबाट भने एकमात्र सान्तवाना गोल आसाङ योङहाङले फर्काए। सुरुआती अग्रता लिएको भाङबारीले अन्त्यतिर चामत्कारिक खेल प्रदर्शन गर्दै सहज जित निकाल्यो। खेलको १२औँ मिनेटमा नै पेमा तामाङको गोलमा भाङबारीले अग्रता लियो। ४५औँ मिनेटमा आयोजकका आसाङले गोल गरी बराबरीमा ल्याए। ६४औँ मिनेटमा देवेन्द्र तामाङको गोलमा भाङबारीले २–१ को अग्रता बनायो। उत्तरार्धमा चम्किएको भाङबारीका रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले इन्जुरी समयमा लगातार दुई गोल गरी ४–१ को जित दिलाए।
खेलमा विजेता भाङबारीका देवेन्द्र तामाङ ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे। मङ्गलबार झापाको दुधे युथ क्लब र चुलाचुली स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव सरिता राईले जानकारी दिइन्। गोल्डकमा नेपालको इलाम, झापा, पाँचथर र मोरङ तथा भारतको एक गरी आठ टोलीको सहभागिता छ।
विजेताले नगद रु तीन लाख ११ हजार एक सय ७१ र उपविजेताले नगद रु दुई लाख पाँच हजार एक सय ७१ प्राप्त गर्नेछन्। स्थानीय किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१औँ जन्मोत्सवको अवसरमा आयोजित आत्मा–पवित्र खेलकुद विकास समितिको आयोजनामा सुरु भएको गोल्डकपको फाइनल मङ्सिर १७ गते हुनेछ।








