डुडुवा । बाँकेको राप्ती नदी सिधनियाघाटमा आज पाँचौ संस्करण गंगा महाआरती गरिएको छ । महाआरतीमा भक्तजनहरुको सहभागिता बढ्दै गएको पाइएको छ ।
बाँके डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदीस्थित सिधानीया घाट मन्दिरमा गंगा महाआरती समितिको आयोजनामा गंगा महा आरती भएको हो । बाँके जिल्लाका विभिन्न स्थानबाट आएका सर्वसाधारण भक्तजनले आज आइतबार महाआरतीको क्रममा गंगा माताको विशेष पुजापाठ समेत गरेका थिए ।
धार्मिक पर्यटन प्रवद्र्धन, राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्न नियमित रुपमा महाआरती हुदै आएको मन्दिरका संरक्षक तथा पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताउनुभयो ।
स्थानीय तथा सामाजिक अगुवाहरुको पहलमा गत भदौ ३ गते श्रावण शुक्ल पुर्णिमाको दिनदेखि शुरु भएको महाआरती नियमित रुपमा गरिएको छ । महाआरतीलाई प्रत्येक महिनाको पुर्णिमाका दिन नियमित रुपमा गरिदै स्थानीय महाआरती समितिका अध्यक्ष सुर्यलाल यादवले बताउनुभयो । उहाँका अनुसार आज आईतबार मार्ग शुक्ल पुर्णिमाका दिन साँझ महाआरती गरिएको छ ।
त्यस्तै आर्थिक व्यवस्थापनको कार्य महाआरती समितिका कोषाध्यक्ष विनय गुप्ताको संयोजकत्वमा गरिएको छ ।
राप्ती नदी एउटा पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । नदीमा प्रत्येक वर्ष कार्तिक पुर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम कवारिया, दशैमा दुर्गा मुर्तिको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा शिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दहलगायतका कार्यक्रमहरु हुने गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपक बर्माको परिवारले महाआरतीमा आर्थिक सहयोग समेत गरेको थियो ।महाआरतीमा लुम्विनी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, अम्बिका काफ्ले, डुडुवा गाउँपालिका वार्ड नं. ५ का अध्यक्ष झंकबहादुर थापा, समाजसेवी पशुपतिदयाल मिश्र, रमेश गुप्ता, ललित रौनियार, माधवराम बर्मा, अजय वर्मा, महेश कुमार चौधरी, विद्यार्थी नेता शुशिल वर्मा लगायत स्थानीय सर्वसाधारणको उपस्थिती रहेको थियो ।