डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाको १७ औं गाउँसभा शनिबार सम्पन्न भएको छ । गाउँपालिकाको प्रशासनिक कार्यालय परिसरमा आयोजना गरिएको गाउँसभाले नीति तथा कार्यक्रम र बजेट पास गर्ने निर्णय गर्दै सम्पन्न भएको हो ।
विकास समृद्धि र सुशासन, डुडुवा गाउँपालिकाको अभियान नारा’सहित गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले चालु वर्षको अर्ध वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो ।
डुडुवा गाउँपालिकाको स्रोत साधानहरुलाई समुचित सदुपयोग र परिचालन गरी कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबीलाई न्यूनिकरण गरी गाउँपालिकाबासीको जनजीवन सहज, सरल र गुणस्तरीय बनाउने लक्ष्यका साथ अध्यक्ष चौधरीले नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।
पशु स्वास्थ्यलगायतका किसानमैत्री सेवाहरु सहज, सरल र निःशुल्क रुपमा जनताको घरदैलोमा उपलब्ध गराउने, जनस्वास्थ्य सेवालाई आम नागरिकको पहुँच योग्य बनाउने, दिगो विकासमैत्री र विपत व्यवस्थापन हुने गरी बजेट तर्जुमा र कार्यान्वयन गर्ने, लक्षित समूह विकास कार्यक्रममार्फत महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, जनजाती, मधेशी, मुस्लिम, पिछडावर्ग र सिमान्तकृत वर्गको सामाजिक सुरक्षा तथा सामाजिक न्यायसहितका कार्यक्रममार्फत विकासको मुल प्रवाहमा समावेश गर्ने गाउँपालिकाले कार्यक्रमहरु तय गरेको छ ।
यसैगरी कृषि विकास, रोजगारमूलक, आयमूलक कार्यक्रममार्फत बेरोजगारी र गरिबी न्यूनिकरण गर्ने, व्यवसायीक, सिपमूलक र नैतिकतामा आधारित शिक्षामार्फत ज्ञान सिपकला र संस्कृतिको जर्गेना गर्ने र दक्ष जिम्मेवार तथा अनुसाशित जनशक्तिको उत्पादन, सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा स्थानीय विकासलाई दिगो वातावरणमैत्री तथा प्रभावकारी बनाउन साझेदारी र सहभागितामूलक विकासमा जोड दिने रहेको छ ।
वडा नम्बर ६ मा निर्माण भएको कोल्ड स्टोर यसै वर्षदेखि संचालनमा ल्याउने, वडा नम्बर ३ मा ल्याब परीक्षण (प्रयोगशाला) शुरु गरिएको र अन्य वडामा विस्तार गरिने, यही फागुनदेखि स्वास्थ्य चौकी बेतहनीलाई प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा संचालन गर्ने र २४ औं घण्टा आकस्मिक सेवा संचालन गर्ने यसै वर्ष सामुदायिक आँखा स्वास्थ्य उपचार केन्द्र स्थापना गरि संचालनमा ल्याउने, बालविवाह न्युनियकरण गर्न र छोरीहरुलाई कम्तीमा पनि एसइइसम्मको पढाई अनिर्वाय गर्न आकस्मिक दुर्घटना बिमासहितको कन्या मुद्दती शिक्षालाई निरन्तरता दिने, उच्च शिक्षा अध्ययन प्रोत्साहनका लागि साईकल बितरण गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष चौधरीले बताउनुभएको थियो ।
यस्तै राप्ती नदी धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्व राख्ने भएकाले वडा नम्बर २ को रामनगर पाझामा रहेको सार्वजनिक जग्गामा १ सय ५० फिटको शिवको प्रतिमासहितको उद्ध्यान निर्माण गरिने लगायत रोजगारी सृजना गर्ने कार्यक्रमहरु कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले जानकारी दिनुभएको थियो ।
सभामा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडा नं. १ का वडाअध्यक्ष पटेश्वर प्रसाद कुर्मी, २ का दुर्गा प्रसाद वर्मा, ३ का अमोद तिवारी र ४ का सगीर खाँ तथा कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिकाले चार जना कर्मचारीलाई नगदसहित सम्मान गरेको छ । डुडुवामा कार्यरत तर अवकाश भएका चार जनालाई कर्मचारी तथा शिक्षकलाई जनही ६ हजार नगद र प्रमाण पत्रसहित गाउँपालिकाले सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्ष चौधरी र उपाध्यक्ष बानोले संयुक्तरुपमा चारै जनालाई सम्मान गर्नुभएको थियो । अवकास प्राप्त जनस्वास्थ्य अधिकृत धनबहादुर बुढा, शिक्षक शेर बहादुर केसी, का.स जोगी सिंह सिख र नरेश काँदु सम्मानित हुनुभएको हो ।