नेपालगन्ज । बाँकेको डुडुवा आयोजना गरिएको गाउँपालिकास्तरीय एसइइ स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शहिद स्मारक माध्यमिक विद्यालय प्रथम भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा शहिद स्मारक प्रथम स्थान ल्याउन सफल भएको हो । प्रतियोगितामा श्री माध्यमिक विद्यालय बनकट्टी दोस्रो, फ्लोरिक एकेडमी छग्रहवा तेस्रो स्थान ल्याउन सफल भएका छन् भने पशुपति माध्यमिक विद्यालय नौरीगौढी सान्त्वना भएको थियो ।
विजयी विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, उपाध्यक्ष साहिदा बानो र ३ नम्बरका वडा अध्यक्ष आमोद तिवारीले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले विद्यार्थीहरुको विषयगतस्तरमापनमा यस्ता कार्यक्रम सहयोगी हुने धारणा राख्नुभयो । उहाँले विद्यार्थीहरु भनेको राम्रोसँग अध्ययन गर्ने भएकाले पढ्ने उमेरमा पढाईमा नै ध्यान दिन जोड दिनुभयो । विद्यालयको शैक्षिक क्रियाकलापलाई राम्रो बनाउनका लागि विद्यार्थीसँगै शिक्षकको जिम्मेवारी रहेको हुँदा शिक्षकले इमानदारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।
विद्यालयमा विद्यार्थीले राम्रो नराम्रो गरेको कुराहरुको जिम्मेवारी शिक्षकको हो, अध्यक्ष चौधरीले भन्नुभयो, यस्ता गतिविधि हुन नदिन सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ, विद्यालयलाई सबैक्षेत्रबाट सुरक्षित राख्न आवश्यक छ । ८ वटा विद्यालय सहभागि भएको प्रतियोगितामा ५ राउण्डमा प्रश्नहरु सोधिएको थियो । गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयका प्रश्नहरु गरी सबैबाट १६/ १६ वटा प्रश्न सोधिएको शिक्षा शाखा प्रमुख संजय कुमार कर्णले जानकारी दिनुभयो ।
जनता माध्यमिक विद्यालय वडा नं १ पिप्रहवा, पशुपति माध्यमिक विद्यालय वडा नं २ नौरीगौढी, श्री माध्यमिक विद्यालय वडा नं ३ बनकट्टी, श्री माध्यमिक विद्यालय वडा नं ४ शाहपुर्वा, शहिद स्मारक कम्दी, ज्ञानदिप माध्यमिक विद्यालय वडा नं ५ डलैपुर, सरस्वती माध्यमिक विद्यालय वडा नं ६ भंघघोट्ना र फ्लोरिड एकेडमी छग्रहवा गरी एक निजि र सात वटा सामुदायिक विद्यालयले सहभागिता जनाएको स्रोतव्यक्ति राम एकवाल मण्डल बताउनुभयो ।