जानकी (बाँके), १० जेष्ठ । बाँकेको जानकी गाउँपालिका वडा नं. ३ मा वडास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय मानपुर प्रथम भएको छ । समृद्धि फाउण्डेसन नेपालद्धारा आयोजित प्रतियोगितामा श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय मानपुर प्रथम स्थान ल्याउन सफल भएको हो ।

प्रतियोगितामा श्री माध्यमिक विद्यालय बन्जारेगाउँ दोस्रो, श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय इन्द्रपुर तेस्रो स्थान ल्याउन सफल भएको छ, भने श्री मरीमाता प्राथमिक विद्यालय जुगुनभरिया सान्त्वना भएको थियो ।
प्रतियोगितामा विजयी भएका विद्यालय तथा विद्यार्थीहरुलाई वडा न ३ का वडाध्यक्ष राज कुमार वर्माले पुरस्कार वितरण गर्दै विद्यालयमा शैक्षिक गुणस्तर मापनका लागि यस्ता प्रतियोगिताले मद्दत पुग्ने भन्दै विद्यालय र विद्यार्थीको पढाईको क्षमता अनुसार आगामी दिनमा शैक्षिक गुणस्तरमा जोड दिने बताउनुभयो । साथै शिक्षक ज्युहरुले बालबालिकाहरुलाई पढाउने बेला आफ्नै घरपरिवार छोराछोरी सम्झेर पढाउनु पर्ने र बाँकी व्यस्थापकीय पक्ष वि व्य स ले गर्ने त्यसपछि पनि भएन भने वडा समिति मार्फत मैले लड्नु पर्ने ठाउँ म आफै लड्छु समेत भन्नु भयो ।

प्रतियोगिताका विजयीहरुलाई वडा नं. ३ का सदस्यहरु हुसेनी यादव र लक्ष्मी पासी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा वडास्तरिय ६ वटा विद्यालयहरुको सहभागिता रहेको समृद्धि फाउण्डेसन नेपालका अध्यक्ष महेश कुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार स्थानीय वडा तथा पालिका, सामान्य ज्ञान तथा प्राथमिक स्तरका नेपाली, अग्रेजी गणित लगायत विषयका प्रश्नहरु गरी सबैबाट १०/१० वटा प्रश्न सोधिएको थियो । बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागि प्रतियोगिताका आयोजना गरिएको थियो ।

प्रतियोगितामा श्री मावि बन्जारेगाउँ, श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय करमोहना, श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय इन्द्रपुर, श्री मरीमाता प्राथमिक विद्यालय जुगुनभरिया, श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय मानपुर र दारुल उलुम मस्उदिया गरीब नवाज इन्द्रपुर गरी एक धार्मिक र पाँच वटा सामुदायिक विद्यालयले सहभागिता जनाएको र सम्पुर्ण सहभागी विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण समेत गरिएको समृद्धि फाउण्डेसन नेपालका सचिव चिरञ्जिवी वुढाले बताउनुभयो ।








