काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् । प्रजातान्त्रिक बिचार समाजले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठुलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका हुन् ।
त्यस्तै सभापति देउवाले २०५२ सालमा आफू प्रधानमन्त्री हुँदा सांसदहरूलाई सुविधाका लागि सबैको सहमतिले गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको जिकिर समेत गरे । त्यसबेला भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किनेको उनले बताए । सभापति देउवाले प्रजातन्त्रमा बोल्न पाउने अधिकार भएकाले सोही विषयमा अहिले पनि टिका टिप्पणी हुनु ठुलो कुरा भएको धारणा राखे ।








