२०८२ कार्तिक २४ सोमबार

प्रहरीले ठूलो जुवाखाल पत्ता लगायो, १४ जना रङ्गे हात पक्राउ

नवराज गुप्ता 

नेपालगन्ज । तिहार पर्व नजिकिँदै जाँदा बाँकेमा जुवा तासको गतिविधि तीव्र बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ। यही क्रममा गए राति नेपालगञ्जबाट १४ जना जुहारीलाई रंगे हात पक्राउ गरिएको छ। बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जेसीका अनुसार जुवातास नियन्त्रणका लागि कडाईका साथ अभियान चलाउने निर्देशन दिएसँगै मातहतका टोली सक्रिय भएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका २ बाइपास रोड स्थित विज्ञान श्रेष्ठले सञ्चालन गरेको मौरी रेस्टुरेन्टमा छापा मार्दा करिब १३ लाख ६३ हजार ८०० रूपैयाँ नगद र जुवामा प्रयोग भएको तास सहित १४ जना पक्राउ गरिएको हो। प्रहरी निरीक्षक यमबहादुर बुढा मगरको कमाण्डमा खटिएको १५ जनाको टोली ले रेस्टुरेन्टको दोस्रो तल्लामा रहेको हल कोठामा चलिरहेको जुवा खालमा छापा मारेको थियो। प्रहरीका अनुसार रातोमा सेतो रङको पर्दा बिछै खेल खेल्ने तयारीमा रहेको जुहारीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थल बाट नगद रकम खेलिरहेको २ गद्दी तास र नखुलेको ८ गड्डी तास पनि बरामद गरेको बाँके प्रहरी प्रवक्त डिएसपी दीपक पादलले जानकारी दिएको हो।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज २ का २८ वर्षीय विज्ञान श्रेष्ठ, मुक्तिपुरका ३६ वर्षीय गणेश बस्नेत, जयसपुरका ४६ वर्षीय सेराज अन्सारी, त्रिभुवन चोकका २४ वर्षीय ऋषि गुप्ता, बसपार्कका ५२ वर्षीय तरुण गौतम, कोरियनपुरका ३७ वर्षीय बिनोद खड्का, बसपार्कका ४८ वर्षीय मोहम्मद सफिइक बेहेना, कारकाँदो ४७ वर्षीय संगम शाह, बसपार्कका ५० वर्षीय मधुसुधन दाहाल, बसपार्ककै ४५ वर्षीय मेघराज गौतम, धम्बोजीका ४५ वर्षीय रमेश शाही, कोहलपुर ११ का ४८ वर्षीय भागीराथ यादव, कोहलपुर ९ का ४२ वर्षीय नन्दलाल यादव, र कोहलपुर २ का ४० वर्षीय सुमन केसी रहेका छन् ।

प्रहरीले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखी आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर