२०८२ फाल्गुन ३० शनिबार

सर्वोच्चमा मुद्दा दायर गर्न पूर्णबहादुर खड्कालाई अख्तियारी

काठमाण्डौ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठकले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्न खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो। शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई आधिकारिकता दिएर देउवा नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गरेको थियो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला एवं अन्य कानूनी काम कार्वाही गर्नका लागि कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गरिन्छ।’

देउवा पक्षले आयोगले गरेको निर्णयलाई नेपालको संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत रहेको ठहर गरेको छ। बैठकले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको निष्कर्ष निकालेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ ।’
देउवा पक्षले देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित समितिलाई अवैधानिक ढंगले परिवर्तन गर्नु लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश भएको आरोप लगाएको छ। बैठकले कानुनी उपचार खोज्नुका साथै आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवाद गर्ने निर्णय समेत गरेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर