गोरखा। लगातारको वर्षापछि आएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा रहेको एक तीनतले घर पूर्णरूपमा बगाएको छ। पहिरोका कारण घरमा बस्दै आएका एक व्यक्ति घाइते भएका छन्।
प्रहरीका अनुसार मानसिं गुरुङको घर जगसहित भासिएर करिब २० मिटर तल खसेपछि पूर्ण रूपमा क्षति पुगेको हो। घटनाका बेला घरमा डेरा गरी बसिरहेका रौतहटका ५८ वर्षीय तोखान महतो घाइते भएका छन्। उनको गोरखा प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
पहिरोको प्रभावले नजिकै रहेको अर्को चारतले पक्की घरमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ भने प्रभावित क्षेत्रको अवस्था निगरानीमा राखिएको छ।








