नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकारहरूको सहयोग र हितलाई लक्षित गर्दै कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पत्रकारहरू समस्यामा पर्दा आवश्यक राहत उपलब्ध गराउन सकिने उद्देश्यले कोष निर्माण गर्ने निर्णय गरेको हो।
नवनिर्वाचित अध्यक्ष कमल खत्रीले आफ्नो कार्यकालको पहिलो निर्णयका रूपमा पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरिएको बताउनुभयो। पत्रकारिता पेशाका क्रममा आइपर्न सक्ने जोखिम तथा कठिन परिस्थितिमा कोषमार्फत सहयोग उपलब्ध गराउने उद्देश्य रहेको उहाँको भनाइ छ।
अध्यक्ष खत्रीका अनुसार समाचार संकलन तथा रिपोर्टिङका लागि पत्रकारहरू नियमित रूपमा सवारी साधन प्रयोग गर्नुपर्ने अवस्थामा हुन्छ। यस क्रममा दुर्घटनालगायतका जोखिमसमेत रहने भएकाले समस्यामा परेका पत्रकारलाई कोषबाट केही राहत उपलब्ध गराउन सकिने अपेक्षा गरिएको छ।
कोषको रकम करिब १० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो। कोषलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै आवश्यकताका आधारमा पत्रकारको हितमा उपयोग गरिने उहाँले बताउनुभयो।
यसैगरी, नेपाल प्रेस युनियन बाँकेले अधिवेशन सफल बनाउन सहयोग गर्ने केन्द्रीय प्रतिनिधि तथा पदाधिकारी, लुम्बिनी प्रदेश समिति, निर्वाचन समिति र युनियनका अग्रज नेताहरूप्रति आभार व्यक्त गरेको छ।
नवनिर्वाचित पदाधिकारीहरूले पदभारसमेत ग्रहण गरेका छन्। निर्वाचन समितिका संयोजक केशवराज कोइरालाले निर्वाचित पदाधिकारी तथा प्रदेश र संघीय प्रतिनिधि परिषद्का सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रममा युनियनका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि मुक्तबाबु रेग्मी, लुम्बिनी प्रदेश महासचिव नवी गिरी, पूर्व केन्द्रीय सदस्य उमा थापा, नेपाल प्रेस युनियन बाँकेका पूर्व अध्यक्ष अर्जुन ओली तथा जयनारायण शाह, नेपाली कांग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतमलगायतको उपस्थिति थियो।
सो क्रममा केन्द्रीय प्रतिनिधि रेग्मीले नेपाल प्रेस युनियन बाँकेले सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेर अन्य शाखाहरूलाई सकारात्मक सन्देश दिएको बताउनुभयो।
कार्यक्रमकी अध्यक्ष प्रियास्मृति ढकालले आफ्नो कार्यकालमा सकेसम्म रचनात्मक काम गर्ने प्रयास गरिएको बताउँदै तीन वर्षको अवधिमा आफूले धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गर्नुभयो। उहाँले नवनिर्वाचित अध्यक्ष कमल खत्रीलाई जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ नेतृत्वले अझ प्रभावकारी र रचनात्मक काम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।








