काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। हिमानी ट्रस्टको कार्यक्रममा सहभागी भएपछि राणाले पूर्वराजासँग भेट गरेको बताइएको छ।
भेटपछि राणाले सामाजिक सञ्जालमा पूर्वराजासँगको तस्बिर सार्वजनिक गर्दै भेटवार्ता फलदायी रहेको उल्लेख गरेका छन्। भेटका क्रममा पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको संकेत उनले दिएका छन्।
राप्रपाबाट अलग भएर नयाँ राजनीतिक दल गठन गरेका राणाको पार्टीले यसअघि नै संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ। अभियानलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने तयारी पार्टीले गरिरहेको जनाएको छ।
पूर्वराजासँग राणाको पछिल्लो भेटलाई जय नेपाल पार्टीले अघि सारेका राजनीतिक एजेन्डासँग जोडेर हेर्न थालिएको छ। यद्यपि, भेटवार्तामा कुन–कुन विषयमा विस्तृत छलफल भयो भन्नेबारे राणाले हालसम्म थप जानकारी सार्वजनिक गरेका छैनन्।








