काठमाडौँ ।दक्षिण–पश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत केरुङ काउन्टीमा मंगलबार बिहान विनाशकारी पहिरोमा ज्यान गुमाएका तथा अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको सम्झनामा शोकसभा आयोजना गरिएको छ।
गत अगस्ट २६ मा आएको लेदोसहितको भीषण पहिरोले केरुङ क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। प्राकृतिक विपत्तिमा परी केही व्यक्तिले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता रहेको बताइएको छ।
मंगलबार बिहान आयोजित स्मृति सभामा स्थानीय अधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।
पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, बेपत्ताको खोजी तथा राहतका कामहरू जारी रहेका बेला मृतकहरूको सम्झनामा शोकसभा गरिएको हो। विपत्तिपछि प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउने तथा पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको जनाइएको छ।








