२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

कलैयाबाट बेपत्ता २ वर्षीया बालिका सकुशल भेटिइन्

बारा, ७ भदौ । बाराको कलैया उपमहानगरपालिका–१ कटिपर्साकी २ वर्षीया बिन्दी मण्डल बेपत्ता भएको केही घण्टापछि सकुशल फेला परेकी छन्। रातभर खोजीपछि सडक किनारको नालामा रोइरहेको अवस्थामा उद्धार 

 

स्थानीय मुकेश मण्डलकी छोरी बिन्दी शनिबार साँझ करिब ५ः३० बजेतिर आफ्नै घरबाट हराएकी थिइन्। बालिका बेपत्ता भएपछि परिवार, स्थानीयवासी र प्रहरीले खोजी अभियान तीव्र बनाएका थिए।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको सुरक्षा टोलीले रातभर बालिकाको खोजी गरेको थियो।

 

आइतबार बिहान कलैया उपमहानगरपालिका–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले बालिकालाई फेला पारेकी हुन्। उनले तत्काल बालिकालाई नालाबाट उद्धार गरी आफ्नै घरमा लगेर सुरक्षित राखेकी थिइन्।

 

बालिका फेला परेपछि प्रहरीले उनलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। स्वास्थ्य परीक्षणपछि उनको अवस्था सामान्य रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

 

स्वास्थ्य अवस्था सामान्य रहेकाले बालिकालाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर