काठमाडौं । मध्यपूर्वमा फेरि सुरक्षा तनाव बढेको छ। अमेरिका र साउदी अरेबियाले इराकमा इरान समर्थित सशस्त्र समूहलाई लक्षित गर्दै संयुक्त हवाई आक्रमण गरेपछि घटनाक्रमले नयाँ मोड लिएको छ।
सैन्य कारबाहीको प्रतिउत्तरस्वरूप इरानले जोर्डनस्थित अमेरिकी सैन्य एयरबेसतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ। इरानले उक्त आक्रमणको जिम्मेवारी स्वीकार गरेको छ भने अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) र साउदी रक्षा मन्त्रालयले पनि घटनाको पुष्टि गरेका छन्।
पछिल्ला ७२ घण्टामा इराकबाट साउदी ऊर्जा संरचना र अमेरिकी सैन्य लक्ष्यमा ३० भन्दा बढी ड्रोन आक्रमण भएपछि त्यसको जवाफस्वरूप पूर्वी इराकमा संयुक्त हवाई कारबाही गरिएको जनाइएको छ।
उक्त आक्रमणमा इरान समर्थित पपुलर मोबिलाइजेशन फोर्स (PMF) का केही सैन्य पूर्वाधार ध्वस्त भएको र आठ जना लडाकुको मृत्यु तथा चार जना घाइते भएको बताइएको छ। घटनापछि इराकका प्रधानमन्त्री अली अल–जैदीले राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन्।
यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (IRGC) ले जोर्डनको मुवाफाक साल्ती एयरबेस र अमेरिकी सैन्य संरचनालाई लक्षित गरी मिसाइल प्रहार गरेको जनाएको छ। तर, जोर्डनी सेनाले प्रहार गरिएका सबै पाँच मिसाइल वायु प्रतिरक्षा प्रणालीमार्फत आकाशमै निष्क्रिय पारिएको दाबी गरेको छ।
यसैबीच, इरानले होर्मुज जलमार्ग हुँदै गुडिरहेका तीन तेल ट्यांकर नियन्त्रणमा लिएको जनाएको छ। यस घटनाले विश्वव्यापी ऊर्जा आपूर्ति, समुद्री व्यापार र मध्यपूर्वको सुरक्षा अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको चिन्ता थप बढाएको छ। युरोपेली संघसहित विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।







