२०८३ श्रावण १० आईतवार
[the_ad id="6228"]

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कपिलवस्तु, साउन २६ — कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

 

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे.१ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा रहेका दुवै जना गम्भीर घाइते भएका थिए।

 

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा सात सदस्यीय टोली घटनास्थल पुगेको थियो। घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको भए पनि उपचारकै क्रममा आइतबार राति १:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

 

प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान अझै खुल्न सकेको छैन। उनीहरूको शव हाल जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।

 

दुर्घटनामा संलग्न बस, मोटरसाइकल तथा बसका सहचालक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ निवासी २१ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–२ निवासी २८ वर्षीय श्यामकुमार कामी भने रुपन्देहीमा प्रहरीको नियन्त्रणमा रहेका छन्।

 

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर