२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

किभमा रुसी मिसाइल आक्रमण, ५ जनाको मृत्यु २३ जना घाइते

काठमाडौं । रूसले युक्रेनमाथि गरेको पछिल्लो रात्रीकालीन मिसाइल आक्रमणमा राजधानी किभ र आसपासका क्षेत्रमा कम्तीमा ५ जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन्।

 

युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार आक्रमणका क्रममा आवासीय संरचना र गोदामलगायत क्षेत्रमा क्षति पुगेको छ। आक्रमणपछि उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ। उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेका छन् र हालसम्म एक जनालाई जीवितै बाहिर निकालिएको बताइएको छ।

 

किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणबाट एउटा बाल अस्पतालसमेत प्रभावित भएको छ। विस्फोटका कारण अस्पतालका झ्यालका सिसा फुटेका छन् भने परिसरमा रहेका केही सवारीसाधनमा आगलागी भएको छ।

 

दक्षिण–पश्चिमी किभको सोलोम्यान्स्की जिल्लास्थित औद्योगिक क्षेत्रमा पनि मिसाइल प्रहार भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

 

यस्तै, किभ क्षेत्रको ब्रोभरी जिल्लामा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएको क्षेत्रीय गभर्नर टिमुर तकाचेन्कोले जानकारी दिएका छन्।

 

सम्भावित थप आक्रमणको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले राति नै सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

 

युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला छिमेकी पोल्यान्डले समेत सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्ना सैन्य विमान परिचालन गर्ने सावधानीमूलक अभियान सुरु गरेको जनाएको छ।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर