काठमाडौं । सुनसरीमा पछिल्ला दिनदेखि विकसित भएको सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री सुधन गुरुङ प्रभावित क्षेत्रतर्फ जाने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलपछि उनले सुनसरी पुगेर त्यहाँको वस्तुस्थिति बुझ्ने कार्यक्रम तय भएको हो।
भ्रमणका क्रममा गृहमन्त्रीले दुई समुदायबीच भएको हिंसात्मक झडप, त्यसपछिको सुरक्षा चुनौती तथा समग्र परिस्थितिबारे जानकारी लिनेछन्। उनीसँगै स्वास्थ्यमन्त्री निशा मेहता र केही सांसदहरूको टोली पनि सुनसरी जाने कार्यक्रम रहेको जनाइएको छ।
सुनसरीमा भएको घटनाको प्रभाव सिरहा, धनुषा, सर्लाहीलगायतका जिल्लामा समेत देखिन थालेपछि विभिन्न स्थानमा प्रदर्शन, झडप, आगजनी तथा कर्फ्युको अवस्था सिर्जना भएको छ। यसलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय अघि बढाएको छ।
स्थलगत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी तथा सरोकारवालासँग छलफल गर्दै शान्ति–सुरक्षा सुदृढ बनाउन आवश्यक निर्देशन दिने कार्यक्रम रहेको बताइएको छ।







