चितवन । खैरहनी नगरपालिका–१ शाहीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
सोमबार बिहान महोत्तरीबाट काठमाडौंका लागि जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले शाहीचोक क्षेत्रमा एक पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पुर्याएको थियो।
अस्पताल पुर्याइएका उनलाई चिकित्सकले बिहान ३:१५ बजे मृत घोषणा गरेका हुन्।
मृतकको पहिचान खुल्न सकेको छैन। प्रहरीले मृतकको नाम, थर तथा ठेगाना पत्ता लगाउने कार्य भइरहेको जनाएको छ।
दुर्घटनापछि प्रहरीले बससहित चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ।








