२०८३ श्रावण १३ बुधबार
[the_ad id="6228"]

देवानगञ्ज घटनाको छानबिन सुरु, समितिद्वारा घटनास्थलमै स्थलगत अध्ययन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको वास्तविकता उजागर गर्न सरकारले गठन गरेको छानबिन समितिले स्थलगत अनुसन्धान सुरु गरेको छ।

 

गत आइतबार राति दुई पक्षबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। घटनापछि स्थानीय क्षेत्रमा तनाव बढेसँगै निष्पक्ष छानबिनको माग उठेको थियो।

 

सोही घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिले प्रारम्भिक चरणमा विराटनगर पुगेर घाइते तथा सरोकारवालासँग भेटघाट गर्दै आवश्यक जानकारी संकलन गरेको थियो।

 

बुधबार बिहान समितिको टोली घटनास्थल कप्तानगञ्ज पुगेर स्थलगत निरीक्षण गरेको छ। टोलीले घटनास्थलको अवस्था अवलोकन गर्नुका साथै स्थानीय बासिन्दा, प्रत्यक्षदर्शी र सम्बन्धित पक्षसँग छलफल गर्दै थप तथ्य संकलन गरेको जनाएको छ।

 

समितिले घटनाको पृष्ठभूमि, सुरक्षा निकायको भूमिका, घटनाक्रम र त्यसपछिको अवस्थाबारे विस्तृत अध्ययन गरी निष्कर्षसहितको प्रतिवेदन सरकारसमक्ष पेश गर्ने तयारी गरेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर