नेपालगञ्ज। बाँकेको नेपालगञ्जबाट प्रहरीले करिब ५७८.९५० ग्राम खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रारम्भिक रूपमा दुई जनाबाट १५३.९५० ग्राम खैरो हेरोइन बरामद भएको थियो। त्यसपछि थप अनुसन्धानका क्रममा एक जनाको घरमा खानतलासी गर्दा ४२५ ग्राम खैरो हेरोइन फेला परेपछि कुल बरामद परिमाण ५७८.९५० ग्राम पुगेको हो।
घटनामा पक्राउ परेका ३० वर्षीय सुशिल भण्डारी र ५५ वर्षीय अरुणकुमार जयसवाल माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कारबाहीका क्रममा प्रहरीले डिजिटल तराजु, दुई थान मोबाइल, रु. १ लाख ८० हजार तथा भारु २ लाख १४ हजार समेत बरामद गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका अरुणकुमार जयसवाल यसअघि पनि खैरो हेरोइन मुद्दामा सजाय भुक्तान गरिसकेको व्यक्ति रहेको अभिलेखबाट खुलेको छ। अहिले दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।








