सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव साँझ प्रहरीले सडकबाट उठाएर अस्पताल पठाएको छ।
दिनभर आफन्त र प्रदर्शनकारीहरूले शव सडकमै राखेर विरोध प्रदर्शन जारी राखेका थिए। साँझतिर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै शवलाई भ्यानमार्फत अस्पतालतर्फ लगेको हो।
प्रदर्शनका क्रममा गोली लागेर औरही गाउँपालिकाका किशोर गणेश यादवको मृत्यु भएको बताइएको छ। शव अस्पताल लगिएपछि पनि गोलबजार क्षेत्रमा प्रदर्शन पूर्ण रूपमा रोकिएको छैन।
संवेदनशील बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै सम्भावित अप्रिय घटना रोक्न गोलबजार तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति थप बढाइएको छ। स्थानीय प्रशासनले नागरिकलाई संयमता अपनाउन तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।







