नेपालगञ्ज। भेरी अस्पतालले जनावरको टोकाइ, सर्पदंश तथा अन्य विषालु जीवजन्तुसँग सम्बन्धित घटनाको तथ्यांक व्यवस्थित रूपमा संकलन र विश्लेषण गर्न ‘BITE Registry’ सञ्चालनमा ल्याएको छ। अस्पतालको विद्युतीय स्वास्थ्य अभिलेख (EHR) प्रणालीसँग जोडिएको BUILD प्लेटफर्ममार्फत अब यस्ता घटनाको सम्पूर्ण विवरण डिजिटल रूपमा अभिलेख गरिनेछ।
यस प्रणालीमा बिरामीको विवरण, चोटको अवस्था, उपचार प्रक्रिया, Anti-Rabies Vaccine (ARV), Rabies Immunoglobulin (RIG) तथा सर्पदंशका बिरामीमा Anti-Snake Venom (ASV) को प्रयोग, उपचारको प्रभावकारिता र स्वास्थ्य परिणामसम्बन्धी जानकारी सुरक्षित गरिनेछ। अस्पतालका अनुसार संकलित तथ्यांक अनुसन्धान, उपचार निर्देशिका सुधार, औषधि व्यवस्थापन तथा प्रमाणमा आधारित स्वास्थ्य नीति निर्माणमा उपयोगी हुनेछ।
अनुसन्धानको नेतृत्व प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं ले गरिरहेका छन् भने विभिन्न विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली यसमा संलग्न छ।
भेरी अस्पतालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अस्पतालमा ८,४०४ जनावरको टोकाइ र ८० विषालु सर्पदंशका घटना अभिलेख भएका छन्। विशेषगरी बाँके र बर्दिया जिल्लाबाट आउने बिरामीको संख्या उल्लेखनीय रहेको अस्पतालले जनाएको छ।
साउन १६ गतेदेखि प्रारम्भिक रूपमा सञ्चालनमा आएको यो प्रणालीलाई भविष्यमा विस्तार गर्दै राष्ट्रिय स्तरको “Nepal Bite Registry” का रूपमा विकास गर्ने लक्ष्य अस्पतालले लिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नाल ले BITE Registry ले उपचार सेवा, अनुसन्धान तथा प्रमाणमा आधारित स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि सबै स्वास्थ्यकर्मीलाई सक्रिय सहयोग गर्न आग्रह गरेका छन्।








