मोरङको लेटाङ नगरपालिका–५, कानेपोखरीस्थित सडकमा अनटेस्ट (On Test) सिटी अटो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार असार २० गते दिउँसो करिब ११:५५ बजे कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको सिटी अटो दुर्घटनामा परेको हो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले चारै जना घाइतेको उद्धार गरी एपेक्स अस्पताल, लेटाङ पुर्याएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका लेटाङ नगरपालिका–६ निवासी ६० वर्षीय मुनराज लावतीलाई थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर रिफर गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा सिटी अटो चालक लेटाङ नगरपालिका–६ निवासी अन्दाजी ४० वर्षीय वीरबहादुर राई, २७ वर्षीया शान्ति राई र लेटाङ नगरपालिका–५ निवासी अन्दाजी ५० वर्षीया अनु राई रहेका छन्। उनीहरूको एपेक्स अस्पताल, लेटाङमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।








