रौतहट । लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ भने एक बालिका अझै बेपत्ता रहेकी छन्।
देवाही गोनाही नगरपालिका–२, लक्षमिनिया टोल नजिकै मंगलबार दिउँसो करिब २ बजे नुहाउने तथा पौडी खेल्ने क्रममा तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार बेपत्ताको खोजी गर्ने क्रममा बुधबार बिहान करिब ६ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दक्षिण जिङडिया पुल नजिकै दुई बालबालिकाको शव फेला परेको हो।
मृत अवस्थामा भेटिनेमा देवाही गोनाही–२ लक्षमिनियाका शेख कमरे आलमका १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह र सोही स्थानका शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।
सोही घटनामा बेपत्ता भएकी शेख खुर्सैदकी १० वर्षीया छोरी रौशन खातुनको भने अझै अवस्था अज्ञात छ। उनको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासीको संयुक्त टोलीले नदीको तटीय क्षेत्रमा खोजीलाई निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरीका ९ जना तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको नेतृत्वमा ७ जनाको टोली उद्धार तथा खोजीमा परिचालन uगरिएको थियो।
बेपत्ता बालिकाको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।








