२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

सर्लाहीमा स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित एक जना पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटर रोकेर जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो। प्रहरीका अनुसार स्कुटरको डिकी, विभिन्न भाग तथा चालकले बोकेको कालो झोलाभित्र लुकाइराखिएको अवस्थामा नगद बरामद गरिएको थियो।

 

बरामद रकममा १ हजार रुपैयाँका ३ हजार ५०० थान, ५०० रुपैयाँका ३ हजार १०८ थान, १०० रुपैयाँका ७०० थान र ५० रुपैयाँका २०० थान नोट रहेका छन्।

 

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ निवासी अन्दाजी ५७ वर्षीय जगन्नाथ महतो कोईर रहेका छन्। उनलाई नियन्त्रणमा लिने क्रममा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा उनी घाइते भएका थिए।

 

घाइते महतोको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि म्याक्स अस्पताल, मलंगवा लगिएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

 

उक्त घटनामा उनलाई नियन्त्रणमा लिन खटिएका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्रलाई समेत सामान्य चोट लागेको थियो। उनीहरू प्रादेशिक अस्पताल मलंगवामा उपचारपछि डिस्चार्ज भइसकेका छन्।

 

प्रहरीले बरामद नगद, स्कुटर तथा जगन्नाथ महतो कोईरीलाई नियन्त्रणमा लिएर घटनाको स्रोत र उद्देश्यबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर