काठमाडौं, १३ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ।
मंगलबार बेलुका एक्कासी चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको हो।
उनकी छोरी मानुषी यमी भट्टराईका अनुसार चिकित्सकहरूले प्रारम्भिक परीक्षणपछि डा. भट्टराईमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो (BPPV) को लक्षण देखिएको बताएका छन्। यो भित्री कानसँग सम्बन्धित समस्या हो, जसका कारण अचानक चक्कर आउने र सन्तुलन गुम्ने जस्ता लक्षण देखिन सक्छन्।
मानुषीका अनुसार डा. भट्टराईका अन्य सबै स्वास्थ्य परीक्षणका रिपोर्ट सामान्य रहेका छन्। हाल उनी चिकित्सकहरूको निगरानीमा उपचाररत छन् र स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको जनाइएको छ।








