काठमाडौं । सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगन्जमा भएको घटनापछि विकसित सुरक्षा अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा कप्तानगन्ज घटनापछिको सुरक्षा अवस्था, शान्ति व्यवस्था तथा सरकारले चाल्ने थप कदमबारे छलफल हुने अपेक्षा गरिएको छ।
कप्तानगन्ज बजारमा दुई समुदायबीच उत्पन्न विवाद झडपमा परिणत भएपछि स्थिति तनावपूर्ण बनेको थियो। झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो भने घटनापछि स्थानीय क्षेत्रमा तनाव थप बढेको छ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कप्तानगन्ज तथा आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। यता, सरकारले घटनाको निष्पक्ष छानबिन र प्रभावित क्षेत्रमा शान्ति तथा सुरक्षा कायम गर्न आवश्यक पहल अघि बढाइरहेको जनाएको छ।







