कोहलपुर (बाँके) । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र फसेर तीन जना मजदुरको ज्यान गएको छ।
प्रहरीका अनुसार स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेप्टिक ट्याङ्कीमा बुधबार बिहान करिब ९ बजे काम गरिरहेका बेला तीनै जना मजदुर फसेका थिए।
घटनाको जानकारी पाएपछि प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए। जेसीबीको सहायताले ट्याङ्की फुटाएर उनीहरूलाई बाहिर निकालिए पनि तीनै जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का करिब ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्।
तीनै जनाको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।








