झापा, साउन १३ — झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकमा कारको ठक्करबाट ९२ वर्षीया धनमाया खड्काको मृत्यु भएको छ।
कारागार कार्यालयबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१-०१-००२ च ०००५ नम्बरको सेतो कारले प्रशासन कार्यालयको काम सकेर सडक पार गर्न लागेकी भद्रपुर–९ निवासी खड्कालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई कार चालकले तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न कार र चालक, बुद्धशान्ति गाउँपालिका–२ निवासी ४६ वर्षीय मदन प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








