दाङ, साउन १३ — दाङमा प्रहरीले ३५ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत गढवा गाउँपालिका–१ जुरौनी क्षेत्रमा सवारी जाँचका क्रममा उक्त परिमाणको लागुऔषध बरामद भएको हो।
अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको टोलीले बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०८३७ नम्बरको ईभी हाइस जाँच गर्ने क्रममा पछाडिको सिटमा रहेका दुई वटा कालो झोला र एउटा निलो सुटकेसभित्र चरेसजस्तो देखिने कालो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा सोही सिटमा रहेका एक व्यक्ति फरार भएका थिए। त्यसपछि बरामद भएको झोला र सुटकेस आफ्नो भएको स्वीकार गर्दै यात्रा गरिरहेका **रुकुम पूर्व, भूमे गाउँपालिका–२ निवासी करिब २६ वर्षीय हिक्मत पुन**लाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बरामद गरिएको चरेससहित पुनलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








