विराटनगर | विराटनगर विमानस्थल हुँदै काठमाडौं पठाउन लागिएको पार्सलबाट जुत्ताको सोलभित्र लुकाएर राखिएको १८.४८ ग्राम ब्राउन सुगर फेला परेको छ। एक्स–रे जाँचका क्रममा शंकास्पद वस्तु देखिएपछि सुरक्षा टोलीले पार्सल खोलेर जाँच गर्दा कालो प्लास्टिकमा पोको पारिएको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त पार्सल विराटनगर महानगरपालिका–९, महेन्द्रचोकस्थित एक कुरियर सेवामार्फत काठमाडौं पठाउने तयारी गरिएको थियो। घटनासँग सम्बन्धित आरोपमा विराटनगर–५ निवासी २४ वर्षीय सुशान्त खड्का पक्राउ परेका छन्। उनी पार्सल विमानस्थलसम्म पुर्याउन पुगेका थिए।
प्रारम्भिक अनुसन्धानबाट पार्सल विराटनगरका राघव झाले काठमाडौं पठाउनका लागि खड्कालाई जिम्मा दिएको खुलेको प्रहरीले जनाएको छ। फरार रहेका झाको खोजी तीव्र बनाइएको छ।
मोरङ प्रहरीका अनुसार बरामद लागुऔषध, पक्राउ परेका व्यक्ति तथा घटनासम्बन्धी अन्य पक्षमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले यस प्रकरणमा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।







