२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

मकवानपुरमा तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्यो, एक जनाको मृत्यु

हेटौंडा | मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

 

बुधबार राति करिब २:३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित हुँदा करिब १०० मिटर तल चण्डी खोलामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ।

ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा बिहान करिब ९:१५ बजे चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरेका हुन्।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार थिए। घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर