चितवन, २ साउन । लगातार वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा काठमाडौं जाने पृथ्वी राजमार्गमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको छ।
प्रशासनका अनुसार धादिङसहित छिमेकी जिल्लाहरूमा वर्षा बढ्दै गएको र आगामी केही घण्टामा थप वर्षा हुने पूर्वानुमान रहेकाले यात्रुको सुरक्षाका लागि रातिको सवारी सञ्चालन रोकिएको हो।
सवारी साधनहरूलाई सुरक्षित स्थानमा राख्न अनुरोध गर्दै प्रशासनले आवश्यक सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सम्बन्धित निकायसँग सम्पर्कमा रहन आग्रह गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर, मुग्लिन, कुरिनटार, गैंडाकोटलगायत विभिन्न सुरक्षित स्थानमा सवारी व्यवस्थापन गरिएको छ भने पहिरोको जोखिम भएका क्षेत्रमा कुनै पनि सवारी नराखिने जनाएको छ।








