काठमाडौं । स्मार्ट टेलिकमको धितो सम्पत्ति लिलामी प्रक्रियासम्बन्धी विवादमा सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालकहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुरोधमा जिल्ला अदालत काठमाडौंले बैंकका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि बैंक अध्यक्षसहितका पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले हाललाई पक्राउ तथा धरपकड नगर्न आदेश दिएको हो।
रिटमा स्मार्ट टेलिकमको धितो लिलामी प्रक्रिया बैंकिङ कानुनअनुसार भएको दाबी गर्दै अनुसन्धानको नाममा अघि बढाइएको कारबाही रोक्न माग गरिएको थियो। सर्वोच्चले उक्त विषयमा दुवै पक्षको विस्तृत बहस आवश्यक रहेको ठहर गर्दै २५ साउन मा छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।
सो मितिसम्मका लागि अध्यक्ष पाँडेसहित सञ्चालकहरू प्रजन्य राजभण्डारी, कविकुमार टिबरेवाल, दिपांकर शाक्य, उदय शालिकराम बेलबासे र शोभा श्रेष्ठ लाई सोही मुद्दामा पक्राउ नगर्न आदेश जारी गरिएको छ।
यससँगै अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा सर्वोच्चले २५ साउनको सुनुवाइपछि अन्तिम निर्णय गर्नेछ।








