२७ असार, काठमाडौं । अमेरिका र इरानबीच शनिबार हुने सम्भावित वार्ताअघि अमेरिकाले इरानसँग नयाँ सर्त अघि सारेको छ। अमेरिकी प्रशासनले इरानले हर्मुज जलडमरू खुला रहने र व्यावसायिक जहाजहरूमाथि आक्रमण नगर्ने विषयमा सार्वजनिक रूपमा प्रतिबद्धता जनाउनुपर्ने माग गरेको हो।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार ह्वाइट हाउसले इरानले हालै व्यावसायिक जहाजहरूमा भएको गोलीबारीलाई ‘गल्ती’ भएको स्वीकार गर्दै त्यसबारे सार्वजनिक धारणा स्पष्ट पार्नुपर्ने चाहेको छ।
रिपोर्टअनुसार, इरानी पक्षले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरूसँगको गोप्य छलफलमा उक्त घटना गल्ती भएको स्वीकार गरेको दाबी गरिएको छ। तर इरानले त्यसको जिम्मेवारी आफूअनुकूल विद्रोही समूहको गतिविधिलाई दिएको जनाएको छ।
यसअघि जुनमा भएको युद्धविराम समझदारीअनुसार इरानले हर्मुज जलडमरूमार्फत आवतजावत गर्ने व्यावसायिक जहाजहरूको सुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता जनाएको थियो।
अमेरिकी अधिकारीहरूका अनुसार कट्टरपन्थी समूहहरूले जहाजमाथि आक्रमण गरेर अमेरिका–इरानबीच जारी वार्तालाई असफल बनाउन खोजेको इरानले जनाएको छ।
एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, “इरानी पक्ष वार्ताको टेबलमा फर्कियो र भन्यो– हामीबाट गल्ती भयो, अब वार्ता अघि बढाऔँ।”








