सिरहामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ४३ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले लक्ष्मीपुर पतारी गाउँपालिका–५ स्थित आफ्नै गाउँको मन्दिरबाट उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार मिति २०४१ वैशाख १ गते सिरहाको साविक खरुक्याही गाविस–४ मा बैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयलाई लिएर विवाद भएको थियो। विवादका क्रममा रजिन्द्र यादवलाई केही व्यक्तिले घेरा हाली कुटपिट गरेका थिए। कुटपिटबाट यादवको मृत्यु भएको घटनामा ठकाई यादवसमेतका व्यक्तिहरू संलग्न रहेको प्रहरी विवरणमा उल्लेख छ।
उक्त घटनासम्बन्धी मुद्दामा सम्मानित उच्च अदालतबाट २०४६ पुस २५ गते भएको फैसलाअनुसार ठकाई यादवलाई १ वर्ष कैद सजाय तोकिएको थियो। तर फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार रहेका थिए।
लामो समयदेखि फरार रहेका सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–५, खरुक्याही निवासी करिब ८० वर्षीय ठकाई यादव आफ्नै गाउँको मन्दिरमा साधुबाबा तथा पुजारीको भेषमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला परेका हुन्।
प्रहरी टोलीले २०८३ साउन २८ गते मन्दिरबाट यादवलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सिरहा जिल्ला अदालतमा बुझाएको जनाएको छ।
प्रहरीका अनुसार उक्त घटनामा संलग्न भई वारदातपछि फरार रहेका अन्य ११ जना प्रतिवादीको समेत मृत्यु भइसकेको जानकारी प्राप्त भएको छ।








