काठमाडौं । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय पटेल गाउँपालिकाका एक कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरिया को टोलीले मंगलबार वडाध्यक्ष पटेललाई उनकै गाउँ हरिहरपुर बिर्ता बाट नियन्त्रणमा लिएको हो।
प्रहरीले गाउँपालिकाको कार्यालयभित्र कर्मचारीमाथि भएको कुटपिट घटनामा अभद्र व्यवहार कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्र मल्ल का अनुसार पक्राउ परेका पटेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने तयारी गरिएको छ।
गत असार २३ गते कालिकामाई गाउँपालिकाको कार्यपालिकाको कार्यालयभित्र कम्प्युटर अपरेटर चन्दनकुमार चौरसिया माथि कुटपिट तथा दुर्व्यवहार भएको आरोप लागेको थियो। उक्त घटनापछि गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै निरन्तर विरोध जनाउँदै आएका थिए।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धानसमेत जारी रहेको जनाएको छ।








