२०८३ श्रावण १२ मंगलवार
[the_ad id="6228"]

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजार ४४७ विदेशी पर्यटक नेपाल प्रवेश, भुटानी आगन्तुक सबैभन्दा धेरै

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टा नाका हुँदै ९ हजार ४४७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार सो अवधिमा दैनिक औसत २६ जना विदेशी नागरिक यही नाका प्रयोग गरेर नेपाल आएका हुन्। भारतका नागरिकलाई भिसा आवश्यक नपर्ने भएकाले उनीहरूको विवरण यस तथ्यांकमा समावेश गरिएको छैन।

 

कार्यालयको अभिलेखअनुसार गत वर्ष ८६ देशका नागरिक काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका छन्। तीमध्ये भुटानका ४ हजार ९९४ जना पर्यटकसहित सबैभन्दा धेरै आगमन भएको छ भने अमेरिकाबाट २ हजार १५२ जना** पर्यटक भित्रिएर दोस्रो स्थानमा रहेका छन्।

 

तथ्यांकले पुस र माघ महिनालाई यस नाकाको मुख्य पर्यटकीय सिजनका रूपमा देखाएको छ। पुस महिनामा सबैभन्दा बढी १ हजार ८५० जना विदेशी पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम भदौमा २१६ जना मात्र भित्रिएका थिए।

 

अध्यागमन कार्यालयका अनुसार पुस–माघमा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा आसपासका आफन्त भेट्न तथा खोटाङस्थित हलेसी महादेव दर्शनका लागि नेपाल आउने क्रम बढ्ने गर्छ। यही कारण ती महिनामा पर्यटकको चाप उल्लेखनीय रूपमा बढ्ने गरेको हो।

 

कार्यालयले सन् २०२४ अगस्टदेखि काँकरभिट्टा नाकाबाट पूर्ण रूपमा अध्यागमन सेवा सञ्चालनमा ल्याएको हो। सेवा सुरु भएको अवधि छोटो भएकाले धेरै विदेशी पर्यटकलाई यो नाका प्रयोग गर्न सकिने विषयमा अझै पर्याप्त जानकारी पुग्न बाँकी रहेको कार्यालयक भनाइ छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर