२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, घण्टौँदेखि जाममा रोकिए सवारी र यात्रु

काठमाडौं, असार ३० — लगातारको वर्षा र विभिन्न स्थानमा पहिरो खस्दा जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख सडकमार्गमा सवारी आवागमन रोकिएको छ। यात्रुको सुरक्षालाई मध्यनजर गर्दै लामो दूरीका सार्वजनिक सवारीसाधन बसपार्क तथा अन्य स्थानमै होल्ड गरिएको छ।

 

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार नागढुंगा–मुग्लिन–नारायणगढ, साँगा हुँदै बीपी राजमार्ग तथा फर्पिङ–फाखेल–सिस्नेरी हुँदै हेटौँडा जाने मार्गमा सवारी सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको हो।

 

चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेपछि नागढुंगा–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहित पहिरो खसेपछि उक्त सडक पनि बन्द गरिएको छ।

 

त्यसैगरी फर्पिङ–फाखेल–सिस्नेरी सडक तथा कान्ति राजमार्गको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोका कारण ती मार्गमा समेत सवारी सञ्चालन रोकिएको प्रहरीले जनाएको छ।

 

ट्राफिक प्रहरीले आइतबार रातिदेखि नै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको थियो। वर्षा नरोकिएकाले सोमबार बिहान पनि कुनै लामो दूरीका सवारी सञ्चालन गर्न अनुमति दिइएको छैन। अहिले बसपार्क र विभिन्न स्थानमा सयौँ सवारीसाधन तथा यात्रु रोकिएका छन्।

 

प्रहरीका अनुसार मौसम र सडकको अवस्थाको निरन्तर अनुगमन भइरहेको छ। जोखिम कम भएपछि मात्रै सवारी सञ्चालनबारे निर्णय गरिनेछ।

 

यसअघि नै जिल्ला प्रशासन कार्यालय चितवनले पनि पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन स्थगित गर्ने निर्णय गरेको थियो। प्रशासनले यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर