काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य क्याम्पहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
आईआरजीसीको विज्ञप्तिअनुसार कुवेतस्थित अल उदइद एयर बेस मा रहेको गोलाबारुद डिपोमा ड्रोन प्रहार गरिएको छ। साथै अली अल सालेम एयर बेसको मुख्यालय भवन, गोलाबारुद भण्डारण केन्द्र तथा केही सञ्चार हबहरू पनि आक्रमणको निशानामा परेको दाबी गरिएको छ।
त्यसैगरी, जोर्डनको अल अजराक एयर बेस मा रहेका इन्धन भण्डारण ट्याङ्कहरूमा पनि ड्रोन आक्रमण गरिएको आईआरजीसीले जनाएको छ। उक्त एयर बेसलाई अमेरिकी सैन्य उपस्थितिको महत्वपूर्ण रणनीतिक केन्द्रका रूपमा हेरिन्छ।
आईआरजीसीले यी आक्रमणहरू सफलतापूर्वक सम्पन्न भएको दाबी गरे पनि अमेरिकी पक्ष वा सम्बन्धित देशहरूले घटनाबारे तत्काल आधिकारिक पुष्टि गरेका छैनन्।
मध्यपूर्वमा बढ्दो तनावका बीच आएको यो दाबीले क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बन्न सक्ने विश्लेषण गरिएको छ।








