काठमाडौं। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा महोत्सव’का क्रममा शनिबार राति भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
स्थानीय समयअनुसार राति ८:१२ बजेतिर सेन्ट क्लेयर एभिन्यूमा महोत्सव चलिरहेका बेला गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। त्यहाँ पुगेपछि प्रहरीले छ जना घाइते फेला पारेको थियो, जसमध्ये दुई जना पुरुषलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो।
घटनापछि प्रहरीले सम्पूर्ण क्षेत्रलाई सुरक्षा घेराभित्र राखेको छ र सर्वसाधारणलाई उक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रहरीका अनुसार गोलीकाण्डमा संलग्न संदिग्ध व्यक्ति वा समूह अझै फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको छ। घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यस घटनाप्रति ओन्टारियोका प्रिमियर डग फोर्डले गहिरो दुःख व्यक्त गर्दै हिंसाको कडा निन्दा गरेका छन्। उनले सामाजिक सञ्जाल X मार्फत जारी गरेको सन्देशमा निर्दोष नागरिकमाथिको यस्तो आक्रमण अस्वीकार्य भएको उल्लेख गर्दै दोषीलाई शीघ्र पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्नुपर्ने बताएका छन्।








