२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

गणेश नेपालीको मृत्यु प्रकरणमा नयाँ मोड परिवारले प्रहरीमा दियो जाहेरी

काठमाडौं, २९ असार। आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने तयारी गरेको छ। जाहेरी दिनका लागि परिवारका सदस्यहरू प्रहरी वृत्त कालीमाटी पुगेका छन्।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार प्रत्येक अप्राकृतिक मृत्युको घटनामा जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइन्छ। उनले पोस्टमार्टम, शव जिम्मा लगाउने र आवश्यक प्रमाणका आधारमा मुद्दा दर्ता गर्ने प्रक्रिया कानुनअनुसार सञ्चालन हुने बताए।

 

आइतबार मात्र पीडित परिवार र प्रशासनबीच ९ बुँदे सहमति भएको थियो। त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ह्वील लक लगाइएको विषयमा महानगर प्रहरीसँग विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उपचारका क्रममा उनको शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।

 

घटनापछि प्रहरीले सोधपुछका लागि महानगर प्रहरीका कर्मचारी र प्रत्यक्षदर्शीलाई बोलाएर बयान लिएको थियो। साथै घटनाको निष्पक्ष छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर