२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका राइडर गणेश नेपालीको घटनापछि काठमाडौं महानगरपालिकाका नगर प्रहरीको सडक उपस्थितिमा उल्लेख्य कमी आएको छ। केही दिनअघिसम्म अव्यवस्थित पार्किङ नियन्त्रणमा सक्रिय रूपमा खटिएका नगर प्रहरी अहिले भने अधिकांश स्थानमा देखिन छाडेका छन्।

 

गणेश नेपालीको मृत्यु घटनापछि गृह मन्त्रालयले छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपुछ गरिरहेको छ। सोही घटनापछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै नगर प्रहरीलाई केही समय नियमित सडक ड्युटीबाट पछि हटाइएको स्रोतले जनाएको छ।

 

एक नगर प्रहरी कर्मचारीका अनुसार, ‘घटनापछि सुरक्षा जोखिम बढेको महसुस भएकाले हाल नियमित रूपमा सडकमा खटिन सकिएको छैन।’

 

नगर प्रहरीको उपस्थिति कमजोर बनेसँगै काठमाडौंका मुख्य सडकमा अव्यवस्थित पार्किङ फेरि बढ्न थालेको छ। विशेषगरी राइड सेयरिङ चालकहरूले सडक किनारमै सवारी पार्किङ गर्ने, यात्रु कुरेर लामो समय सवारी रोक्ने तथा सडकमै मोबाइल प्रयोग गर्ने प्रवृत्ति बढेको देखिएको छ।

 

यसले सवारी आवागमनमा समस्या सिर्जना गर्नुका साथै ट्राफिक जाम र सडक अव्यवस्था बढाएको भन्दै स्थानीयवासीले प्रभावकारी अनुगमन र व्यवस्थापनको माग गरेका छन्।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर