गोरखा । अविरल वर्षापछि बिहीबार बिहान गोरखा जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले भौतिक संरचनामा क्षति पुर्याएको छ। गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित गोरखकाली फ्युल सेन्टरमा खसेको पहिरोले पेट्रोल पम्पको डिस्पेन्सर मेसिन तथा पार्किङमा रहेका पाँच वटा मोटरसाइकलमा क्षति पुगेको हो।
प्रहरीका अनुसार पेट्रोल पम्पको पछाडितर्फको उचाइबाट लेदोसहितको पहिरो खसेपछि उक्त क्षति भएको हो। घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर पुरिएका मोटरसाइकल निकाल्ने, पहिरो पन्छाउने तथा थप जोखिमको अवस्था मूल्याङ्कन गर्ने काम गरिरहेको छ।
यस्तै, पालुङटार नगरपालिका–१ मा पनि पहिरोले एक स्थानीयको घरमा ठूलो क्षति पुर्याएको छ। घरमाथिबाट खसेको लेदोसहितको पहिरोले घर पूर्ण रूपमा ध्वस्त बनाएको जनाइएको छ। मानवीय क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।
लगातारको वर्षासँगै गोरखाका पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन र जोखिमयुक्त स्थानबाट सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ।








